चलचित्र ‘एक्लो’को सम्पूर्ण छायांकन पुरा

२०८२ भाद्र ५
चलचित्र ‘एक्लो’को सम्पूर्ण छायांकन पुरा

चलचित्र ‘एक्लो’को सम्पूर्ण छायांकन पुरा भएको छ । निर्देशक प्रदीप शाहीका अनुसार बाँकी रहेको एक गीतको छायांकन पनि हालै सम्पन्न भएपछि सम्पूर्ण सुटिङ सकिएको हो । गीतको काठमाडौँमा सेट लगाएर छायांकन गरिएको हो । चलचित्रको कलाकार कविता नेपाली फिचर्ड गीतमा स्वप्निल शर्माको स्वर र रोहित शाक्यको संगीत छ । भिडियोको कोरियोग्राफी कविताले नै गरेकी हुन् । कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ का अनुसार गीत दशैंमा रिलिज गरिनेछ ।

‘एक्लो’ वैज्ञानिक कथामा आधारित चलचित्र हो, जसमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन् । चलचित्रको पोस्ट–प्रोडक्सन लन्डनमा भइरहेको छ र आउँदो पुसमा, क्रिसमसको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ ।

यसअघि सार्वजनिक गरिएको टिजरमा प्रदीप खड्कासँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाललगायतका कलाकारहरू देखिएका थिए । ‘एक्लो’ले यसअघि कान्स फिल्म फेस्टिभलको बजार क्षेत्र (मार्केट)मा समेत आफ्नो उपस्थिती जनाइसकेको छ ।

चलचित्रमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङको लगानी रहेको छ । कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।