Mansara

क्लाइमेट चेन्ज फिल्म अवार्ड सम्पन्न

२०७८ कार्तिक १५
क्लाइमेट चेन्ज फिल्म अवार्ड सम्पन्न

क्लाइमेट चेन्ज फिल्म अवार्ड सम्पन्न भएको छ । जयवायु परिवर्तन सम्बन्धी विषयमा बनेका ५ फिल्मलाई पुरस्कृत गर्दै अवार्ड सम्पन्न भएको हो । 

ब्रिटिश काउन्सिलको ‘क्यामरा सिक’ कार्यक्रम अन्तर्गत काउन्सिल र चलचित्र विकास बोर्डले इन्टु फिल्मस् युकेसँगको सहकार्यमा जलवायु परिवर्तनसम्बन्धी ‘थिम’मा फिल्म बनाउने प्रतिस्पर्धा आयोजना गरेको थियो । फाइनल प्रतिष्पर्धामा अन्तिम १५ बाट ५ फिल्मले पुरस्कार जितेका छन् । सोमबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रमका बिच १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीले बनाएका त्यस्ता ५ फिल्मलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा अर्घाखाँचीको मदरल्यान्ड इंग्लिस बोर्डिङले बनाएको ‘लोन्ली स्टेप्स अफ अ फार्मर’ले सबैभन्दा रुचाइएको चलचित्रको पुरस्कार पायो भने समता स्कुलले निर्माण गरेको ‘से नो टु प्लास्टिक्स’ले दर्शकमाथिको प्रभाव शीर्षकको पुरस्कार जितेको थियो । त्यसैगरी अपराजिताले निर्माण गरेको ‘मिगर फ्युचर’ले राम्ररी बनाएको चलचित्रको पुरस्कार जित्यो भने क्रिस्टल माउन्टेन स्कुल धो तराप उपत्यकाले निर्माण गरेको ‘क्लाइमेट चेन्ज इ द हिमालयज’ले जलवायु परिवर्तन पुरस्कार पायो । नन्या खड्काले निर्माण गरेको ‘आइ एम हनुमन्ते’ले भने नौलो शैलीको फिल्म शीर्षकको पुरस्कार हात पारेको थियो । 

युनिसेफ नेपाल, वाइल्ड लाइफ कन्जरभेसन र इन्टरनेसनल युथ मिडिया समिटको सहकार्य रहेको प्रतिष्पर्धाका बिजेताहरुलाई चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र ब्रिटिश काउन्सिल अध्यक्ष शहीदा म्याकडुगले पुरस्कार बितरण गरे । विजेता पाँचै फिल्मकर्मीले ट्रफी तथा क्यामरा किट प्राप्त गरेका छन् भने यस अघि नै अन्तिम प्रतिस्पर्धामा छानिएका १५ वटै फिल्मलाई फिल्म निर्माणका लागि १ लाख ५० हजार रकम उपलब्ध गराइएको थियो । चलचित्र विकास बोर्डका सूचना अधिकृत चिरञ्जीवी गुरागाइँ सम्मिलित निर्णायक मण्डलले बिजेता छनौट गरेको हो । विजेता चलचित्रहरू स्कटल्यान्डको ग्लास्गोमा हुने युएनएफसीसीको कप २६ सम्मेलनमा देखाइनेछ ।

यसैगरी समारोहमा जलवायु परिवर्तन सम्बन्धी चलचित्र बनाउनका छानिएका १० जना किशोर किशोरीको पनि नाम सार्वजनिक गरिएको छ । छनौटमा परेका किशोर किशोरीले नोभेम्बर २० मा पर्ने बाल दिवसका दिन प्रदर्शन गर्ने गरी फिल्म बनाउनु पर्नेछ । उनीहरूले फिल्म बनाउन लागि १ लाख ५० हजार नगद सहयोग पाउनेछन् ।

Mahajatra