प्राइम भिडियोमा ‘चित्रा’, ४३ भाषामा सबटाइटलसहित रिलिज

२०८२ आषाढ १८
प्राइम भिडियोमा ‘चित्रा’, ४३ भाषामा सबटाइटलसहित रिलिज

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् ।

चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । यो चलचित्र ४३ भाषामा सबटाइटल सहित प्राइम भिडियोमा रिलिज गरिएको छ, जसले यसलाई बहुभाषी दर्शकको पहुँचमा पुर्‍याएको छ ।

निर्माण पक्षका अनुसार ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज हुने पहिलो नेपाली चलचित्र हो । यसअघि केही नेपाली चलचित्रहरू अमेजन प्राइम युके वा युएसए संस्करणमा मात्र सीमित थिए, तर ‘चित्रा’ भने ग्लोबल प्लेटफर्म मा रिलिज भएको हो ।

निर्देशक लामिछानेले आफूले निर्देशन गरेको चलचित्र यसरी विश्वव्यापी रूपमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए ।

चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय रहेको छ ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सहनिर्माण गरेका हुन् । चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । चलचित्रको एसोसिएट निर्माता राज श्रेष्ठ हुन् ।

अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो चलचित्रले एक रिटायर्ड बाबु र छोरीबीचको सम्बन्ध, भावनात्मक उतारचढाव र पारिवारिक सम्वन्धको कथा समेटिएको छ।

महेश पौडेलको छायांकन रहेको चलचित्रमा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ ।