Mansara

'ए मेरो हजुर ४' को टिम भन्छ – दर्शकसँग बिश्वास छ

२०७८ चैत्र १३
'ए मेरो हजुर ४' को टिम भन्छ – दर्शकसँग बिश्वास छ

बलिउड चलचित्रको चर्को सामना गर्द आएको नेपाली चलचित्रले अब दक्षिण भारतिय चलचित्रको दबाब पनि झेल्नु पर्ने भएको छ । ठुला भनिएका दक्षिण भारतिय चलचित्रका कारण केही नेपाली चलचित्रले आफ्नो रिलिज नै पछि सार्ने गरेका छन् । यो बिचमा चलचित्र 'ए मेरो हजुर ४' भने दक्षिण भारतिय चलचित्र 'केजीएफ च्याप्टर २' सँग सँगै प्रदर्शन हुन तयार छ ।

१४ अप्रिल अर्थात बैशाख १ गते केजीएफको सिक्वेल रिलिज हुँदैछ । सोही मितिमा नेपाली चलचित्र ए मेरो हजुर ४ पनि रिलिज हुँदैछ । जुन चलचित्रको ट्रेलर बिहिबार साँझ रिलिज गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्माता सुनिल कुमार थापाले नेपाली चलचित्रलाई नेपाली दर्शक, बितरक र हल सञ्चालक सबैले प्राथमिकता दिने भन्दै दक्षिण भारतिय चलचित्रका कारण आफ्नो चलचित्रलाई कुनै असर नपर्ने जिकिर गरे ।

नायक अनमोल केसी र निर्देशक झरना थापाले चलचित्रले दर्शकलाई निराश नबनाउने दाबी गरेका छन् । उनीहरुले दर्शकको साथ पाउनेमा बिश्वास ब्यक्त गरेका छन् । यस्तै अभिनेत्री सुहाना थापाले आफू दर्शकसँग विश्वस्त रहेको बताइन् ।

प्रेम, रोमान्स, कमेडी, विछोड देखाइएको ट्रेलर अनमोल र सुहानाकै वरपर घुमेको छ । चलचित्रमा सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतका कलाकारको पनि अभिनय छ ।

Mahajatra