Pashupati Prasad 2: Bhasme Don

Feature Film Social DramaOct 21, 2023Hall Release

News

‘बस पब्लिसिटी’मा ‘पशुपति प्रसाद २ः भष्मे डन’

लेन्सनेपाल २०८० असोज १७
‘बस पब्लिसिटी’मा ‘पशुपति प्रसाद २ः भष्मे डन’

बडादशैंको अवसर पारेर आगामी कार्तिक ४ अर्थात् फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ टिम यतिबेला आक्रामक प्रचारको तयारीमा जुटेको छ । अहिले काठमाडौं उपत्यका र मोफसलका विभिन्न शहरमा चलचित्रको होडिङ्ग बोर्ड राख्ने काम भइरहेको छ ।

काठमाडौं महानगरपालिका भित्र पोस्टर टाँस्न नपाउने नियम छ । जसले गर्दा निर्माण टिमले काठमाडौं महानगरपालिका भएर चल्ने करिब १ सयबढि सार्वजनिक यातायतमा पोस्टर राखेर चलचित्रको प्रचार गर्ने भएको हो । वास्तविक दर्शकसम्म चलचित्रको प्रचार पुगोस् भन्ने उद्देश्यले निर्माण टिम ग्राउन्ड जिरो प्रचारमा जुटेको छ ।

चलचित्रको निर्माण टिमले काठमाडौंमा ‘बस पब्लिसिटी’ अभियान समेत चलाएका छ । जस अन्तर्गत काठमाडौँका विभिन्न क्षेत्रमा चल्ने एक सय सार्वजनिक बसहरूमा चलचित्रको प्रचार सामाग्रीले रङ्गिएका छन् । चलचित्रको पोस्टर काठमाडौंमा टाँस्न नपाइने भएकाले विकल्पको रूपमा सार्वजनिक यातायातमा पोस्टरहरू टाँसिएको निर्देशक दीपेन्द्र के खनालले बताए ।

सार्वजनिक यातायातको प्रचार सडकको भित्तामा टाँसिने पोस्टर प्रचारभन्दा बढी खर्चिलो भएको अनुभव सुनाए । खर्चिलो भए पनि बस पब्लिसिटी अभियान प्रभावकारी हुने विश्वास हामीले लिएका छौं निर्माता तथा लेखक खगेन्द्र लामिछानेले बताए । अबको केहीदिनमा चलचित्रको ट्रेलर सार्वजनिक गर्दै व्यापक प्रचार प्रसारको तयारीमा रहेको जानकारी उनले दिए ।

चलचित्रको यसअघि सार्वजनिक प्रचार सामाग्रीले पनि दर्शकमाझ निकै राम्रो हाइप बनाएका छन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

चलचित्रमा सौगात मल्ल, विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।