चलचित्रमा किन शशक्त हुन सकेन महिलाको उपस्थिति

बिष्णु सुबेदी २०७५ फागुन २४
चलचित्रमा किन शशक्त हुन सकेन महिलाको उपस्थिति

विश्व चलचित्रलाई हेर्दा सन् १९२६ मा रुसका चलचित्रकर्मी सर्जेइ आइन्स्टाइनले महिलाको अहम भूमिकामा ‘मदर’ नामक चलचित्र बनाएका थिए ।

हुन त यसअघि सन् १९१५ मा पहिलो पटक महिलाको उपस्थिती गराइएको थियो चलचित्रमा । त्यस समय अमेरिकी निर्देशक डेविड वार्क ग्रीफिथले ‘द वर्थ अफ् नेशन’ मा नेपथ्यबाट महिलाको उपस्थिति देखाएका थिए । तर त्यो उपस्थिती खास सबल रहेन । सन् १९२५ मा रुसका चलचित्रकर्मी सर्जेइले व्याट्लशिप पोटेम्पिकीनमा अस्पतालबाट ट्रलीमा बच्चा लिएर आउँदै गरेकी आमा र उनको संवेदनालाई क्लोज अप सटमा प्रस्तुत गरेका थिए । उनले महिलालाई पर्दामा प्रस्तुत गरेर उनीहरूको आवाजलाई चलचित्रमार्फत समाजसम्म पुर्याए । उनले बनाएको चलचित्र मदर नै विश्वमा महिलाको विषय लिएर बनाइएको पहिलो चलचित्र बन्यो ।

यो चलचित्रको प्रभाव भारतमा पनि पर्यो । बलिउड चलचित्रकर्मी महबुब खानले सन् १९५७ मा चलचित्र ‘मदर इन्डिया’ बनाए । चलचित्रको विषयवस्तु नमिले पनि चलचित्रको शिर्षक नेपालसम्म आइपुग्यो । नेपालमा ‘आमा’ नामको चलचित्र बन्यो । आमा आफैमा गर्वशाली नाम । जीवनमा एक पटक आमा बन्ने हरेक नारीको चाहना हुन्छ । पक्कै यो नामले नै नेपाली चलचित्रमा महिलाको उपस्थितीलाई सशक्तरूपमा उल्लेख गर्यो । नेपालभित्र नै निर्माण गरिएको पहिलो नेपाली चलचित्र नै नारीलाई केन्द्रमा राखेर बनाइयो । चलचित्रको प्रस्तुतीले त्यसलाई न्याय गर्नु नगर्नुभन्दा पनि चलचित्रले जस्तै यसको नामले एउटा अर्को इतिहास बनायो । त्यो नेपालभित्र बनेको पहिलो चलचित्रले नारीको सम्मान गर्यो । हुन त यसअघि भारतमा निर्माण गरिएको नेपाली भाषाको पहिलो चलचित्र ‘हरिश्चन्द्र’मा पनि नारी पात्रको उपस्थिती गराइएको छ । दिव्येन्द्रविक्रम परियारले बनाएको यो चलचित्रमा कालिम्पोङ निवासी पासोङ ल्हामु नामक तिब्बतीमूलकी महिलाले अभिनेत्रीको रूपमा अभिनय गरेको अभिलेख पाइन्छ । यद्यपी आमाकी नायिका भुवन चन्दलाई नै पहिलो नायिका भन्ने गरिएको छ । यस्तै निजीक्षेत्रबाट पहिलो पटक बनाइएको चलचित्र हो ‘माइतीघर’ । माइतीघर भन्ना साथ त्यहाँ नारी अवश्य जोडिन्छ । यसकारण यो चलचित्रले पनि नारीलाई केन्द्रमा राख्यो । अग्रज चलचित्रकर्मी प्रकाश सायमीले त यस चलचित्रकी अभिनेत्री माला सिन्हाको जीवनको समस्या, संकट र चुनौती वरिपरि नै यो चलचित्र केन्द्रीत भएको आफ्नो लेखहरूमा लेख्दै आएका छन् ।

चलचित्र ‘सिंदुर’ मार्फत नेपाली चलचित्रमा महिला कलाकारको अवस्था सक्षमरूपमा देखापर्यो । यस चलचित्रबाट अभिनय यात्रा आरम्भ गरेकी अभिनेत्री मीनाक्षी आनन्दको उपस्थितीले चलचित्रलाई व्यवसायिक बनाउन सफल बनायो भन्दा फरक नपर्ला । यसपछि यिनले चलचित्र ‘जीवन रेखा’मा नायक शिव श्रेष्ठले भन्दा बढी पारिश्रमिक लिइन् । सायद नेपाली चलचित्रको इतिहासमा नायकले भन्दा नायिकाले बढी पारिश्रमिक लिएको यो नै पहिलो उदाहरण होला । त्यसो त उनले शिवको भन्दा महत्वपूर्ण भूमिकामा अभिनय गरेर महिला कलाकारको अग्रता सुरु गरिन् । मीनाक्षी पछि नायकको भन्दा बढी पारिश्रमिक लिनेहरूमा ‘झुमा’ मा मौसमी मल्ल, ‘फेरि भेटौँला’मा मनीषा कोइराला, ‘सीता’मा सनी रौनियार र ‘हतियार’मा झरना बज्राचार्यपछि कमै नायिका भेटिन्छन् ।

कुनै न कुनैरूपमा नारीसँग जोडिएको हाम्रो चलचित्रको इतिहासमा पहिलो पटक महिलाको नामबाट सुजाता फिल्मस्को स्थापना भयो । चलचित्र ‘जुनी’की निर्माता मञ्जु राणा स्वयम् महिला भएका कारण उनले महिलाकै नामबाट सुजाता फिल्मस् स्थापना गरिन् । यति मात्र हैन उनी नेपालको पहिलो महिला निर्माता समेत हुन् । यो चलचित्रमा पनि सम्पूर्ण कथावस्तुले नायिका मीनाक्षी आनन्दलाई नै केन्द्रमा राखेको छ । यसमा नारीको जीवनमा आउने समस्या, उनले पार गर्ने सत्तासंघर्ष र समन्वयका बारेमा कथा केन्द्रित थियो । यो चलचित्रमा मीनाक्षी आनन्दले नायक, संगीतकारको चयन आफैले गरेकी थिइन सम्म भनिएको छ ।

यसपछि निजीक्षेत्रका चलचित्रमा ‘कान्छी’बाट शर्मिला मल्ल, ‘कुसुमे रुमाल’बाट तृप्ती नाडकरलगायत देखा परे । सम्भावना बोकेका यी नायिकाहरूको आगमनको समय नेपाली चलचित्रमा नायकहरू केन्द्रमा रहने गरी उनीहरूको शक्तिशाली युग शुरु भइसकेको थियो ।
अहिले पनि चलचित्र संरचनालाई हेर्ने हो भने अधिकांश चलचित्रहरूमा पुरुषले क्रिया गर्दछन् भने महिला प्रदर्शित मात्र हुन्छन् वा भनौं उसलाई अझ सशक्त बनाउन महिलालाई प्रयोग गरिन्छ, कि त चलचित्रमा मसलाको रूपमा प्रयोग गरिएको पाइन्छ भन्दा फरक नपर्ला । नेपाली समाज पुरुष प्रधान हुनु र चलचित्रका कथाकार, लेखक, निर्माता तथा निर्देशक यही परिवेशको घेरामा जेलिएको हुनाले चलचित्रको विकासमा पनि यस्तै खालको अवस्था देखापर्छ । समाजमा पुरुष जति स्वतन्त्र छन् त्यही अनुपातमा महिला स्वतन्त्र हुन नसक्नुको प्रभाव चलचित्रमा पनि देखिन्छ । अधिकांश चलचित्रलाई हेर्दा पुरुष शक्तिशाली बन्छ, माया र प्रेममा बाहेक अन्य महत्वपूर्ण प्रसंगमा उसले स्वतः निर्णय गर्छ, उसैको निर्णय अन्तिम हुन्छ भने महिला निरीहभन्दा अन्यथा नठाने हुन्छ ।

त्यसो त महिलालाई शो पिसको रूपमा पर्दामा उतार्नेहरू पनि छन् । महिला पात्रको उपस्थितीमा नायक वा खलनायक कुनै पात्रले उनलाई देख्दा अचम्म मान्नु, उसको रूपमा लोभिएर उसलाई पाउने चाहना राख्नु । अनि खलनायक उसको शरिरसँग खेल्न चाहनु यस्तै यस्तै दृष्यहरूले नारीको गरिमालाई निकै हलुका तवरले सम्बोधन गर्न लगाएको पाइन्छ । यो कुरा नेपाली चलचित्रमा मात्र नभएर अन्य केही देशका चलचित्रमा समेत पाइन्छ ।

नेपाली चलचित्रको कुरा गर्दा निर्माण आरम्भताकाकै चलचित्र ‘मनको बाँध’मा नायिका सुष्मा शाही र नायिका मीना सिंहलाई एक भ्याम्पको रूपमा र नर्तकी विमला श्रेष्ठलाई बार डान्सरको रूपमा प्रस्तुत गरिएको छ । यो चलचित्रले नेपाली महिलाको आधुनिक छविलाई अस्वभाविक तवरमा प्रस्तुत गर्यो। तर यसपछिको चलचित्र ‘कुमारी’ नारी प्रधान थियो । यसको कथावस्तु नायिका चैत्यदेवी सिंहको वरीपरि घुमेको थियो । नारी प्रधान भएको हुनाले यो चलचित्रमा नायिका र अन्य कलाकारको प्रयोग निकै सजगतापूर्वक र सम्मानपूर्वक भएको देखिन्छ ।

निजीक्षेत्रका चलचित्र ब्यानरहरूको कुरा गर्दा सुजाता फिल्मस् नै महिलाको नामबाट स्थापना गरिएको पहिलो ब्यानर भए पनि अहिले प्रायः निर्माताले आफ्नो सफलताको पछाडिका हातहरू अर्थात् आमा, छोरी वा श्रीमतीको नामबाट स्थापना गर्ने गरेका छन् । डीवी थापाले चलचित्र ‘मायाप्रीति’को निर्माण गर्ने बेला शान्ति फिल्मस्को स्थापना गरे भने नायक निर्माता भुवन केसीले आफ्नै छोरीको नाममा काजोल फिल्मस्को स्थापना गरे । यी केही उदाहरण मात्र हुन् । यो बाहेक निर्देशक तुलसी घिमिरेले आफ्नी पत्नी भारती गजमेरलाई सहायक निर्देशक, निर्देशक शम्भु प्रधानले पत्नी नूतन प्रधानलाई सम्वाद लेखकका रूपमा अगाडि बढाए । यस अर्थमा पुरुषहरूले पनि नारीहरूलाई अगाडी सारेर आफू सफल भएका छन् । हुन त नारीलाई लक्ष्मीको अवतारको रूपमा हेरिने भएका कारण पनि उनीहरूले व्यवसायिक लाभका लागि नारीको नाम जोडेका हुन सक्छन् ।

यो बाहेक कथा तथा सम्वाद लेखनमा महिलाको उपस्थिती बलियो हुन सकेको छैन । संगीत कर्ममा केही महिलाहरू अगाडि बढे पनि पुरुषहरू नै हावी देखिन्छन् । चलचित्र खाली पानाबाट शुरु हुन्छ । र, त्यही खाली पानामा अक्षरहरू भर्न थालिन्छ । यसरी शुरु हुने चलचित्रको विषयलाई नारी केन्द्रीत बनाउन असहज भने छैन । जसका लागि सुरुवातमा नै कथा लेख्दा, पात्रको नाम वा चरित्र लेख्दा नै महिलाको बारेमा सोच्न सकिन्छ । चलचित्रमा अधिकांश जीवन भोगाइका कुराहरू हुने हुँदा महिलाको भोगाइका कुराहरू महिला लेखकले नै अझ सशक्तरूपमा अगाडि बढाउन सक्छन् पनि भनिन्छ । तर, हाम्रोमा महिला लेखक सशक्त नहुनु अर्को विडम्बना हो । यस्तै सम्वादको कुरा गर्दा महिलालाई प्रयोग गरिने तुच्छ शब्दहरू हटाउन सकिन्छ । चलचित्रको सम्वाद नै दर्शकको स्मरणमा रहने हुँदा यसलाई थप सशक्त पार्न सके यसको प्रभाव बढ्नेछ । चलचित्र माइतीघरमा सुनीता रेग्मीले बोलेको ‘घैँटोभित्र घाम लागे मात्र आइमाईले संसार देख्न पाउँछ’, सिंदूरमा खलनायक नीर शाहले बोलेको ‘यो घर एउटा स्टेज हो र तँ मेरी स्वास्नी’, जीवनरेखामा खलपात्र अर्जुनजंग शाहीले बोलेको ‘मलाई त्यही माल चाहिन्छ ।’

महिला शिक्षित भएमा परिवार शिक्षित हुन्छ, उसले बालबच्चालाई सही शिक्षा प्रदान गर्न सक्छे भन्ने चल्तीको नेपाली भनाइलाई पनि चलचित्रकर्मीहरूले बिर्सनुहुँदैन । चलचित्र मनोरञ्जनको माध्यम त हो नै तर यो सँगसँगै सामाजिक उत्तरदायित्व पनि बोकेको हुन्छ चलचित्रले । यसकारण चलचित्रको विषयवस्तु, त्यसमा प्रयोग गरिएका शब्द र प्रस्तुतिले समाजमा कस्तो प्रभाव पार्छ भनेर बुझ्न सकेमा महिलाको उपस्थितीलाई चलचित्र भित्र थप सशक्त बनाउन कठिन छैन । महिलाको उपस्थिती हाम्रो मात्र नभएर हरेक समाजमा केन्द्रीय हुने गर्छ । तर, प्रायः चलचित्रमा नारी नभएर पुरुष केन्द्रीय पात्र बन्ने गरेको छ ।

प्रसिद्ध समाजशास्त्री लौरा मुल्वेले आफ्नो पुस्तकमा भनेका छन् – ‘पर्दामा तिनले कति उत्तेजित बनाउँछिन् वा तिनले के पस्किन्छिन् । तिनी मात्र एक हुन् जसले कि त नायकमा डर पैदा गर्छिन् वा प्रेमको भाव थप्छिन्, जसका कारणले नायकको अभिनयमा शक्ति देखिन्छ । उनको आफ्नै अर्थमा हेर्ने हो भने महिलाको अलिकति पनि महत्व हुन सक्दैन ।’ हुन पनि हो पर्दामा नायकको सपना, उसको संघर्ष, उसको द्वन्द्व, अनि नायकत्व देखिन्छ । वियोग, प्रतिशोध, इच्छा सब थोक हुन्छ नायकको । उ पुरुषको सपनामा हुन्छे, संघर्षमा आउँछे, उसैका कारण द्वन्द्व हुन्छ । यि सबै कुरासँगै नायिका पनि नायककै वरिपरि त हुन्छे तर पुरुषकै सफलताको लागि आफू समर्पित भएको देखाइन्छ । नारी प्रधान भनिएका चलचित्रमा समेत यस्तो शैली देखिन्छ । चाहे त्यो आमामा होस् वा कान्छी र वसन्तीमा नै किन नहोस् ।
हुन त मुल्वेले भनेका छन् – ‘यो संसारको मान्यतालाई सहीरूपमा रेखाङ्कित गर्ने हो भने यौनको सन्तुलनलाई हेर्न जरुरी छ । सक्रिय पुरुषलाई सञ्चालित गर्न एउटा निष्क्रिय महिलाको कृपापूर्ण सुन्दरता पनि जरुरी छ ।’ तर अधिकांश चलचित्रहरूमा महिलाको आकर्षक शरिरको मात्र वर्णन भएको छ । चाहे त्यो गीतको माध्यमबाट किन नहोस् । नेपाली चलचित्र निर्माणमा शुरुदेखि नै नायकको भागमा द्वन्द्व र नायिकाको भागमा नृत्य पर्ने गरेको छ । नायक बन्नका लागि द्धन्द्ध र नायिका बन्नको लागि नृत्य अनिवार्य जान्नुपर्छ । अभिनय त आफ्नै ठाँउमा छ ।

यस्तै सुचित्रा श्रेष्ठलाई पहिलो महिला निर्देशक बन्ने सौभाग्य मिल्यो । चलचित्र ‘परालको आगो’बाट संगीतकार शान्ती ठटाललाई पहिलो महिला संगीतकार बन्ने अवसर मिल्यो भने पहिलो महिला नृत्य निर्देशक शान्ता नेपाली हुन् । उनले चलचित्र ‘बाँसुरी’बाट नृत्य निर्देशन गर्न थालेकी हुन् । यस्तै पहिलो महिला सम्पादक रक्षा सिंह हुन् । उनले चलचित्र निर्देशन समेत गरेकी छन् । त्यसो त अभिनेत्री वसुन्धरा भुषाललाई पहिलो महिला हाँस्यकलाकारको रूपमा चिनिन्छ । निकिता पौडेल चलचित्र क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्ष हुने पहिलो महिला हुन । लामो समय चलचित्र निर्माणमा र प्रदर्शनको क्षेत्रमा काम गरेकी पौडेलले राजनीतिक खिचातानीका बिच बोर्डमा पूर्ण कार्यकाल भने विताउन नपाई राजिनामा दिइन ।

विभिन्न उतारचढावसँगै अगाडि बढेको हाम्रो चलचित्र उद्योगमा महिलाहरूको उपस्थिती जति सशक्त हुनुपर्ने हो त्यो भने हुन सकिरहेको छैन । पछिल्लो केही समय यता भने चलचित्र निर्माणमा महिलाहरूको प्रत्यक्ष संलग्नता हुनु । उनीहरूले निर्माणमा नियन्त्रण गर्न थाल्नु । अभिनयमा पनि केही नयाँपन दिन सक्नुले आशाका किरणहरू भने पक्कै छरेको छ ।

(तथ्यहरु चलचित्र र नारि सम्बन्धि विभिन्न पुस्तक, अग्रज चलचित्रकर्मी प्रकाश सायमीका विभिन्न लेख, तथा गुगल डेटाबाट लिइएको ।)