Mansara

‘जानी नजानी’मा पुराना चलचित्रको रंग आउँदैन –बसन्त अधिकारी, निर्देशक

२०७५ चैत्र १
‘जानी नजानी’मा पुराना चलचित्रको रंग आउँदैन –बसन्त अधिकारी, निर्देशक

निर्देशकिय टिममा बसेर काम गर्ने हरेक व्यक्तिको एउटा चाहना हुन्छ निर्देशक बन्ने । कसैले छोटो बाटो अपनाउँछन् त कसैले समय लिएर सिकेर, जानेर, बुझेर मात्र निर्देशनमा पाइला अघि बढाउँछन् ।

बसन्त अधिकारीले पनि निर्देशकिय टिममा रहेर १८ वर्ष काम गरे । तत् पश्चात बल्ल निर्देशकिय जिम्मेबारी सम्हाले । सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका बसन्तले यो बिचमा थुप्रै चलचित्रमा काम गरेका छन् । हरेक चलचित्रमा नयाँ कथा, निर्देशक अनुसार हरेक चलचित्रमा नयाँ टेक्निक बसन्तले सहायक/मुख्यसहायक निर्देशक हुँदा धेरै कुरा सिक्न पाए । त्यही सिकाइले चलचित्र ‘जानी नजानी’को निर्देशक बनायो ।

तर, उनका लागि हरेक चलचित्र पहिलो लाग्छ । हरेक चलचित्रका लागि पुरानो कुरा बिर्सन पर्छ । ‘जानी नजानी’ निर्देशन गर्दा पनि उनले यसै गरे । दिमाखलाई शुन्यमा झारे, खालि बनाए । अनि स्कृप्टको डिमाण्ड अनुसार काम गर्न थाले । विगतमा गरिएका चलचित्रको रंग यो चलचित्रमा नआओस् भनेर पनि उनले यसो गरेका थिए ।

त्यसो त ‘जानी नजानी’लाई बसन्तले आफ्नो ड्रिम प्रोजेक्ट बताउँदै आएका छन् । ४–५ वर्ष लगाएर स्कृप्ट तयार गरेको अनि मनबाटै काम गर्न मन लागेको स्कृप्टमा काम गरेको मात्र होइन डेव्यु चलचित्र भएकोले पनि उनका लागि यो ड्रिम प्रोजेक्ट बन्न पुगेको छ । लभस्टोरीमा पनि कन्टेन सहितको कथामा चलचित्र बनाएको बताउँने बसन्त ‘जानी नजानी’लाई आधुनिक प्रेम कथा भन्न रुचाउँछन् । किनकी यसमा अहिलेको समय सापेक्ष शैलि अपनाइएको छ रे ।

‘जानी नजानी’ आफ्नो करियरका लागि अर्थपूर्ण रहेको बताउने बसन्त यसमा अवसर र चुनौति दुवै देख्छन् । निर्माताको पूर्ण साथ पाएर सोचेको जस्तो चलचित्र बनाउन पाएको बताउँने बसन्त अचेल कामको मुल्याङ्कन हुने जिकिर गर्छन । कदमकदाचित व्यवसायिक रुपमा चलचित्र सफल नभएपनि आफ्नो कामलाई भने रुचाउने उनको विश्वास छ । त्यसो त विगतमा काम गरेका चलचित्रको रंग नदोहोरियोस भन्ने कुरामा उनी सजग थिए । चलचित्रमा नयाँ टेस्ट दिनु उनक लागि पनि चुनौतिपूर्ण थियो । त्यसैले उनले लामो समय स्कृप्टमा काम गरे । जब मनैदेखि आफुलाई स्कृप्ट मन पर्यो तब मात्र अन्य काम अघि बढाए ।

त्यसो त उनले नयाँ/नयाँजस्तै कलाकारलाई लिएर काम गरेका छन् । स्टार भनिने कलाकार अभिनित अनि स्थापित निर्देशकका चलचित्र पनि असफल भइरहेको बेला उनका लागि पनि व्यवसायिक चुनौति नभएको होइन । एक त आफ्नो पनि डेव्यु अर्को कलाकार पनि नयाँ/नयाँजस्तै । तर, उनी काममा फोकस थिए । आफुले खोजेको अभिनय जस–जसमा भेटे उसैलाई लिएर काम गरे । काचो माटो जस्तै हुने नयाँ कलाकारबाट खोजेको जस्तो काम लिएका छन् रे । ट्रेलर र गीतसंगीतबाट कलाकारको कामको पनि तारिफ भएको उनको भनाई छ ।

त्यसो त मुख्य सहायक निर्देशक हुँदा सम्म एउटा चलचित्रका लागि ४५–६० दिन समय दिए पुग्थ्यो । तर, निर्देशकका रुपमा काम गर्दा निकै जिम्मेबारी बहन गर्नुपर्ने । बसन्तले सोचेको भन्दा धेरै पाटाहरु हेर्नुपर्यो । स्कृप्ट देखि हलमा नलाग्दा सम्मका सबै काममा लगभग संलग्न हुनुपर्ने । पहिला बाहिरी काम सिकेनन् अहिले बुझ्दैछन् ।

बसन्तको लक्ष्य निर्देशक बन्ने नै थियो काम गर्दै जाँदा आफैमा बिश्वास भरिदै गयो । त्यसैले ४–५ वर्ष पहिले अब निर्देशनमा आउछु भन्ने निधो गरे । फलतः स्कृप्टको तयारी शुरु भयो । कोही निर्माता निर्देशकको अफर लिएर आएमा सुनाउनका लागि आफु पनि त तयारी अवस्थामा बस्न पर्यो । त्यसैले उनले ‘जानी नजानी’ सहित अन्य केही चलचित्रको पनि स्कृप्ट तयार गरे । हुन त यो बिचमा उनलाई निर्देशनका लागि अन्य निर्माताबाट अफर नआएको पनि होइन । तर, आफ्नो प्रोजेक्टका लागि उत्कृष्ट निर्माता भेटिइन रोशनी केसी ।

बसन्त निर्देशित चलचित्र ‘जानी नजानी’ आजबाट प्रदर्शन भएको छ । चलचित्रमा निरिशा बस्नेत, मनिष श्रेष्ठ, रोशनी केसी, प्काश अधिकारी, सन्नि सिंहलगायतका कलाकारको अभिनय रहेको छ ।

Mahajatra